काठमाडौँ, फागुन १० : नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमसिसी परियोजनाका बारेमा सरकारभित्रै दोहोरो चरित्र देखाउने काम भएको बताउनुभएको छ । दाङको लमहीमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उहाँले पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताउनुभयो ।
“सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो, “पहिला सरकारको दृष्टिकोण के हो रु सरकारले दुईटा कुरा गर्न मिल्दैन ।”
एमसिसीका नाममा मुलुकमा एक प्रकारको उपद्रो मच्चाउने काम भइरहेको टिप्पणी गदै उहाँले एमसिसीको मस्यौदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताउनुभयो । “प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ, बैठक गर्नुहुन्छ तर, अहिले एमसिसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।
मुलुक सङ्गिन मोडमा उभिएको टिप्पणी गर्दै महासचिव पोख्रेलले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताउनुभयो । “हामी जनताको साथमा त्यस प्रकारको घेराबन्दीलाई सामना गर्दै पार्टीलाई मुलुकको सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प र अठोटका साथ निरन्तररूपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा ५१० व्यक्ति एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट २७५, राप्ती गाउँपालिकाबाट ७५, राजपुर गाउँपालिकाबाट १०५, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन् । पार्टी महासचिव पोख्रेलले उनीहरूलाई पार्टी प्रवेश गराउनुभयो ।