भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्‍यो

  माघ २९, २०७८

नयाँदिल्ली, माघ २९ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ । केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ ।

सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै  छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ । अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ छ ।

तपाईको प्रतिक्रिया