सीमा विवादबारे भारतीय दूतावासले भन्यो ‘संवाद नै विवाद समाधानको उपयुक्त माध्यम हो’

  माघ ०२, २०७८

काठमाडौं, माघ १ : नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ ।

यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो । विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी संयन्त्रको माध्यमबाट छलफल गर्नु उपयुक्त हुने उल्लेख छ । भारतीय दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सीमाबारे भारत सरकारको धारणा स्थिर र प्रष्ट रहेको भन्दै यस्तो बताएको हो ।

सीमा विवादबारेको भारतीय धारणा नेपाल सरकारलाई जानकारी गराएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यो विषयमा संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानल नै उपयुक्त माध्यम हुन् ।’ काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ताले सार्वजनिक गर्नुभएको धारणामा विवाद समाधानका लागि निकट तथा मैत्री द्विपक्षीय सम्बन्धका मर्मका आधारमा सम्बोधन गर्न सकिने भनिएको छ ।

तपाईको प्रतिक्रिया