चरीकोट, मङ्सिर १७ : करिब दुई हप्तासम्म धाम्मधुम्म भएर वर्षा भएसँगै बढेको चिसोले दोलखाको जनजीवन प्रभावित भएको छ । गत हप्तादेखि सुरु भएको चिसोले जनजीवन प्रभावित भएको हो ।
दोलखा हिमाली भेगको चिसो ठाउँ भए पनि यो वर्ष यहाँ निकै चिसो बढेको छ । भीमेश्वर नगरपालिका–४ का ९५ वर्षीय लालबहादुर केसीले भन्नुभयो, ‘चिसो त हुन्थ्यो तर यति सारै चिसो हुँदैनथ्यो । चिसोले मुटुमै रगत जम्न लागेको जस्तो हुन थालेको छ ।
पहिले पनि चिसो भएकै कारण बलिया बाङ्गा बाघलाई, बुढा जति माघलाई भन्ने उखान बनेको होला । अहिले त माघ आउन बाँकी नै छ । यस अघि माघमै यति साह्रो चिसो भएको थाहा छैन । ’
वैतेश्वर गाउँपालिकाका ९० वर्षीय दुर्गा उप्रेती पनि चिसोले सताएको गुनासो गर्नुहुन्छ । ‘हिमालमा हिउँ छैन तर चिसो छ । जीवनमा यति चिसो भएको यो मेरो पहिलो अनुभव हो । पुस–माघमा पनि यति चिसो हुँदैनथ्यो । किन यति बिघ्न चिसो बढेको हो ?’ उहाँले भन्नुभयो ।
यहाँका वर्षे बिदा गर्ने शैक्षिक संस्थाहरू बिहानी कक्षा सञ्चालन गर्न गाह्रो भएकाले केही दिन जाडो बिदा गर्नुपर्नेमा पुगेका छन् । व्यापार व्यवासायमा पनि चिसोले असर परेको व्यापारीको भनाइ उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।
जलवायु परिवर्तनका कारण हिमालमा तापक्रम बढेसँगै हिउँ पग्लेर काला पहाडका रूपमा हिमालहरू परिवर्तन हुन थालेका छन् । पग्लेको हिउँका कारण पनि चिसो बढेको भूगोलका जानकार गौरीशङ्कर बहुमुखी क्याम्पस चरीकोटमा अध्यापनरत गोकर्णप्रसाद पोखरेलको भनाइ छ ।






