टोकियो, कात्तिक १५ : जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।
जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो । सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।
सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसद्को तल्लो सदनमा ४६५ स्थान छन् । प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।
एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताउनुभएको थियो ।
चुनाव जित ‘ठूलो कुरा’ : जापानी प्रधानमन्त्री
लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताउनुभएको छ ।
कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ । “हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ यो ठूलो कुरा हो। हामी यसलाई हाम्रो राजनीतिक र संसदीय नेतृत्वमा प्रयोग गर्न चाहन्छौं,ू एनएचके टिभीले किशिदालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
पार्टीको जितले अब तल्लो संसदीय सदनका सान्दर्भिक समितिका नयाँ अध्यक्षहरू नियुक्त गर्न र त्यसमा पार्टी आफैंले सबैभन्दा बढी सिट प्राप्त गर्ने सुनिश्चित गर्न सक्नेछ भन्ने हो, किशिदाले भन्नुभयो ।
जापानको तल्लो संसदीय सदनको निर्वाचन आइतबार सम्पन्न भएको छ । देशको प्रमुख प्रतिपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टीले ९६ सिट प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि नौ दलका एक हजार ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।






