सिमकोटबासी मैनबत्ती बालेर दशैँ मनाउँदै

  असोज २९, २०७८

हुम्ला, असोज २९ : महान चाड विजया दशमी सिमकोटवासीले मैनबत्ती बालेर मनाएको छन् । असोज २५ गतेबाट बिल्दुम साना जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द हुँदा अँध्यारो मै हुम्लावासीले चाड मनाउन वाध्य भएका हुन् ।

सिमकोट गाउँपालिका – ५ का बर्ख रोकायाले बजारबाट मैनबत्ती किनेर ल्याई उज्यालो गरेर दशैँ बनाउनु परेको बताउनुभयो । सिमकोट बजारका घरघरमा रंगीचङ्गी बत्ती बालेर रमाईलो देखिने गरेकोमा यसपालि अँध्यारो मात्र देखिदै आएको छ । बत्ती नभएकै कारण घरघरमा खसीको बली दिन र देबी देवताको पुजापाठ गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले विद्युत आपूर्ति नभएको कारण अन्धकारमा महान चाड मनाउन जिल्लावासी बाध्य भएको बताउनुभयो । उहाँले केही सोलार जडान गरेका सरकारी तथा व्यक्तिका घरमा बत्तीको उज्यालो भएपनि अधिकांसका घरमा मैनबत्ती बालेर दशैँ मनाउनु परेको बताउनुभयो ।

गत असोज ४ गतेबाट हिल्दुम साना जलविद्युत आयोजनाको नहर पहिरोले चर्किएपछि विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । त्यसको मर्मत कार्य भइरहेकाले २५ दिनयता विद्युत आपूर्ति बन्द रहँदै आएको वितरण केन्द्र प्रमुख साजन ऐडीले बताउनुभयो । ५५ मिटर नहरमा पहिरोले क्षेति पु¥याएको छ । त्यसको मर्मतमा बराहदल गुल्म रानीवनका सेना मर्मत कार्यमा जुटिरहेको भए पनि काम पूरा हुन सकेको छैन । उहाँहरु असोज १६ गतेबाट लगातार मर्मतमा खटिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया