काठमाडौँ, असोज २७ : परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको प्रतिनिधिमण्डल पाँच दिने युरोपको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानको भ्रमण सकेर उहाँ बुधबार स्वदेश फर्कनुभएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा २२ गतेदेखि शुरू भएको दुई दिने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा उहाँले दुई शक्ति राष्ट्रको पक्षमा कतै नलागेर तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्र, मानवअधिकारको वकालत गरेको बताउनुभयो । असंलग्न राष्ट्रहरुको पहिलो शिखर सम्मेलन आयोजना भएको ६० वर्ष पूरा भएको अवसरमा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।
स्वदेश फिर्तिकाे क्रममा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अहिले देखा परेको जातीय र अन्तर राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता, हातहतियारको होडबाजी, धनी र गरिबचीको असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९को महामारीले ल्याएको चुनौतीजस्ता विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिनुभयो ।
भ्रमणको दौरानमा परराष्ट्रमन्त्री खड्काले सर्बियाका राष्ट्रपति एलेक्स्यान्डर भुसिस्सँग भेटघाट गर्नुभएको थियो । भेटमा आपसी सम्बन्धको विषयमा छलफल हुनुको साथै द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने र दुई देशको सम्बन्ध थप मजबुत गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । यस्तै, उहाँले सर्बिया र टर्कीका समकक्षीसँग आपसी सम्बन्धको विषयमा छलफल गर्नुभएको थियो ।






