काठमाडौं, असोज १९ : सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने नेता तथा मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ ।
मंगलबार सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द यादवले भोलि काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताउनुभएको यादवका प्रेस संयोजक महेश चौरासियाले बताउनुभयो ।
जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरु यादव, बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो । जसपाको आज दिउँसो ३.०० बजेदेखि बसेको संसदीय दलको बैठकमा बिहान बसेको सत्ता गठबन्धनको बैठकका विषयमा बिफ्रिङ पनि गरिएको चौरासियाले जानकारी दिनुभयो ।