प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मका लागि स्थगित

  असोज १४, २०७८

काठमाडौं, असोज १४ : प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाउनुभएको थियो ।

त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिइएको थियो । बैठकमा उहाँले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठक शुरु भएलगत्तै प्रमुख प्रतिवक्षी दल नेकपा एमालेले अवरोध गरेका थिए । अवरोधकै बीच सभामुख सापकोटाले बैठक अगाडि बढाउनुभएको थियो । बैठक आठ मिनेट बसेर असोज १९ गते मङ्गलबारसम्मका लागि स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया