हुम्ला असोज १३ : हवाई जहाजमा ढुवानी गरेर ल्याएका मोटर साईलकबाट नेपाली भुमि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन सुरु भएको छ । परिक्षणका रुपमा मोटर साईकलबाट यात्रा गर्नुभएका दुई जना आन्तरिक पर्यटकहरुले दश घण्टामा लाप्चा पुगेर दर्शन गर्नुभएको हो ।
आन्तरिक पर्यटक बखत खड्काले मोटर साईकलमा गएर लाप्चा पुगी मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको बताउनुभयो । यसअघि दैपल वा गाडीमार्फत यात्रा गरी दर्शन भइरहेकाबेला पहिलो पटक उहाँको टोलीले मोटर साईकलबाट यात्रा गरेको हो ।
सिमकोटबाट बिहान आठ बजे मोटर साईकलमा हिडेको टोली बेलुका ४ बजे लिमीको तुम्लिङ पुग्न सफल भएको बताउनुभयो । लाप्चा क्षेत्रको पाँच हजार मिटर अग्लो स्थानमा मोटर साईकलमा गुड्दाको आनन्द अर्कै हुने उहाँले अनुभव सुनाउनुभयो । कच्ची सडक र धुलोले यात्रामा केही समस्या भएपनि समय भने कम लाग्ने उहाँले बताउनुभयो । आर्थिक रुपमा पनि मितव्ययी हुने गरेको उहाँको अनुभव छ ।
तुम्लिङ खोला तर्नेबेला केही समस्या हुने बाहेक अन्य ठाउँमा यात्रा आरामदायी र सहज भएको उहाँले बताउनुभयो । मोटर साईकलको यात्राले लाप्चाबाट मानसरोवर कैलाश दर्शनको यात्राले अन्य आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ । पहिलो मोटर साईकल यात्रा सफल भएपछि चार जोडी अन्यले पनि लाप्चा यात्रा तय गर्नुभएको छ ।






