संवैधानिक इजलाससम्बन्धी मुद्दामा एमिकस क्यूरीको राय लिइने

  असोज ०८, २०७८

काठमाडौं, असोज ८ : प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुनसक्ने कि नसक्ने भन्ने मुद्दामा सर्वोच्च अदालतले एमिकस क्यूरीको राय लिएरमात्र थप आदेश गर्ने भएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले एमिकस क्यूरी बाेलाउने आदेश दिएको छ ।

अधिवक्ता दीपकविक्रम मिश्र र डा.गणेश रेग्मीले दायर गर्नुभएको छुट्टाछुट्टै रिटको सुनुवाइ न्यायाधीशद्वय ढुङ्गाना र शर्माको संयुक्त इजलामा पेशी तोकिएको थियो । प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र अन्तिम (फैसला) हुने सदन आफू बिदा बस्ने भन्नुभएको भन्दै उक्त निर्णय संविधान विपरित भएको दाबीसहित अधिवक्ता रेग्मीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एक इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीश फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो । इजलासको आदेशअनुसार विपक्षीले लिखित जवाफ बुझाइसकेपछि सो रिटमाथि सुनुवाइको लागि शुक्रबार न्यायाधीशद्वय ढुङ्गाना र शर्माको संयुक्त इजलासमा पेशी तोकिएको हो । इजलासले एमिकस क्यूरीको बहस सुनेर मात्र आवश्यक आदेश दिने सर्वोच्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया