विराटनगर, भदौ १६ : प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको छ । माधबकुमार नेपाल समूहमा आवद्ध रहँदै आउनुभएका सांसदहरुले बुधबार दिउँसो प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भएर एमालेबाट बिभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको हो ।
प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यत्रय राजेन्द्रकुमार राई, गणेश काङ्माङ, कृष्णकुमारी राई, प्रदेशसभा सदस्यहरु राजन राई, उपेन्द्र घिमिरे, सरिता थापा, खिनु लङ्वा लिम्बु, पदमकुमारी गुरुङ, सावित्राकुमारी रेग्मी, र सुनिता चौधरीले नयाँ पार्टीमा आवद्ध हुन चाहेको भन्दै सनाखत गर्नुभयो ।
नयाँ पार्टीमा अवद्ध भएको भन्दै निर्वाचन कार्यालयमा सनाखत गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले एमाले नेता भीम आचार्यको नेतृत्वमा बनेको प्रदेश सरकारले बहुमत पुष्टि गर्न नसक्ने बताउनुभयो । दल विभाजन भएको र बिभाजित दलसहित विपक्षी पार्टीहरु गठबन्धनमा रहेका कारण गठबन्धनको तर्फबाट छिट्टै नयाँ सरकार बन्ने नेता राईले बताउनुभयो ।
उहाँले बहुमत गुमाइसकेका कारण नैतिककाका आधारमा मुख्यमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुने बताउनुभयो । ‘उहाँहरुको सरकारले बहुमत गुमाएको छ त्यसैले आशा गरौं मुख्यमन्त्रीले पदबाट राजीनामा गर्नुहुनेछ,’ नेता राईले भन्नुभयो ‘हामी केही दिन हेछौं र २३ गतेपछि पनि राजीनामा गर्नुभएन भने गठबन्धनमा सल्लाह गरेर आगामी प्रक्रियामा अघि बढ्छौं ।’सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने वाध्यकारी व्यवस्था भएको हुँदा त्यति समय पर्खन पनि गाह्रो नभएको उहाँले बताउनुभयो ।
सरकार बनेको एक हप्तामै संकट निम्तियो
नेकपा एमालेका १० जना सांसदले विभाजित बनेको नेकपा एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । भदौ १० गते नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य १६ गतेकै दिन अल्पमतमा पर्नुभएको हो ।
प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएलगतै मुख्यन्त्री भीम आचार्यले पार्टी विभाजन रोकेर एमाले नेतृत्वको सरकारलाई स्थायित्व दिनका लागि मुख्यमन्त्री बनेको प्रतिकृया दिनुभर्एको थियो । तर, उहाँले एमाले नेतृत्वको सरकारमा बहुमत कायम राख्न सक्नुभएन । ९३ सदस्यीय प्रदेशसभामा ५१ सांसद रहेको एमालेबाट १० जनाले नयाँ पार्टी रोजेपछि अब ४१ जना सांसदमात्र एमालेमा रहनुभएको छ ।
सरकारले बहुमत कायम राख्न ४७ जना सांसद आवश्यक हुन्छ । उता विपक्षी गठबन्धनमा भने बहुमत पुग्ने देखिएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्ञ्चका एक जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले कुन पक्षलाई सहयोग गर्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
पत्रकारसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले गठबन्धनमा आवद्ध दलहरुबीच छलफल पछि आगामी सरकारको बारेमा टुंगो लगाइने बताउनुभयो । गठबन्धनमा रहेका दलहरुले अन्य प्रदेशमा मुख्यमन्त्रीको रुपमा सरकारको नेतृत्व गरिसकेको तर एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व नगरेको अवस्थामा आफ्नो दलको दावी रहने बताउनुभयो ।
यद्यपी सरकारको नेतृत्वकै लागि गठबन्धनको भावना विपरित आफू नजाने उहाँको भनाइ थियो । नेपाली कांग्रेस लगायतका दलहरुसँग छलफल गरेर प्रदेशमै नेतृत्व टुंगो लगाइने नेता राईले जानकारी दिनुभयो । उहाँले भदौ २३ गतेपछि मात्र आगामी सरकारको विषयमा छलफल अघि बढ्ने जानकारी दिनुभयो ।






