दार्चुलामा बाढी : तीन जनाको मृत्यु, दुई बेपत्ता

  भदौ १५, २०७८

बैतडी, भदौ १४ : बाढी पहिरोमा परेर दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर दार्चुला पुग्दै छ । 

आइतबार राति आएको बाढीमा परी दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका मनुवा डडालको मृत्यु भएको छ । 

कालागाड खोलामा राति १० बजे  आएको बाढीले घरसहित बगाउँदा डडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा परि  दुहँ गाउँपालिकाकै  जनकराम पार्की र उजेलीदेवी डडाल गम्भीर घाइते भएका छन् भने निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका छन् ।  

यस्तै, बाढीले  दार्चुला–तिंकर सडकमा पर्ने मोटरेबल पुल, दुइटा झोलुंगे पुल र आधा दर्जन घर बगाएको छ । बाढीका कारण दार्चुला तिंकर सडक खण्डको निजाङगाड पुल बगाउँदा दुहँु र व्याँस गाउँपालिकाको आवत– जावत बन्द भएको छ ।

बाढीले दुहुँ–३, को श्रीवगडका पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका–१,को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित हादुर बमको होटल तथा पसल बगाएको प्रहरीले जानकारी दिएको छ ।  

यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् । राती २ः बजेबाट आएको बाढिले श्रीबगडमा क्षेत्रमा खेतबारी बगाएको  छ । 

बाढीका कारण दार्चुलामा मानवीय तथा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रनाउ मनोहरप्रसाद भट्टले बताउनुभयो । बाढीले स्थानीयका घरजग्गासहित पूल, जलविद्युत, पानी घट्ट र पशुचौपायासमेत बगाएको उहाँले  बताउनुभयो । बाढीले दुुहुँ गाउँपालिकामा पाँच वटा पसल, दुई वटा लघु जलविद्युत् आयोजना, चार वटा झोलुङ्गे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो,“उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ । बाढीपहिरो गएको क्षेत्रमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घाईतेको उद्धार, विस्थापित परिवारलाई राहत र पुनः स्थापना गर्न सुरक्षाकर्मी परिचालित छन् ।”

खानेपानीको हाहाकार 
निजाङगाड खोलामा आएको बाढीले खानेपानीको मुहान र पाइप बगाएपछि श्रीवगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । राति दुई बजेदेखि स्थानीयले पानी खान पाएका छैनन् । वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका १, श्रीवगड र दुहुँ गाउँपालिका–३, श्रीवगडमा खानेपानी ल्याइएको थियो । महाकाली नगरपालिकाको श्रीवगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीवगडमा १५ परिवार बस्दै आएका छन् । 

तपाईको प्रतिक्रिया