लक्ष्मी लम्साल
बेइजिङ, साउन २४
जापानको टोकियोमा ग्रीष्मकालीन ओलम्पिक समापन नहुँदै चीनले आसन्न हिउँदे ओलम्पिकको तयारी तीव्र पारेको छ । सन् २०२२ को हिउँदे ओलम्पिक तथा पारा-ओलम्पिकको उद्घाटन तथा समापन समारोह आयोजना गरिने ‘बर्ड नेस्ट’ रंगशालाको मर्मतसम्भारको काम थालिएको चीनले जनाएको छ ।
‘बर्ड नेस्ट निर्माण तथा मर्मतसम्भारको चरणमा प्रवेश गरेको छ,’ बेइजिङ राज्य स्वामित्वको एसेट्स कर्पोरेसनले आइतबार जानकारी दिँदै भनेको छ, ‘यसै वर्षको अक्टोबरसम्ममा मर्मतसम्भारको काम पूरा हुने लक्ष्य राखिएको छ ।’ बर्ड नेस्टअन्तर्गत वाटर क्युब र आइस रिबनको पनि मर्मतकार्य थालिएको छ ।
बेइजिङ–२०२२ हिउँदे ओलम्पिक रंगशाला तथा यानछिङ हिउँदे ओलम्पिक परियोजना व्यवस्थापन तथा पूर्वाधार योजनाअनुसार बेइजिङ नगरपालिकाको संयोजनमा सन् २०२० भित्र ८ वटा प्रतियोगितास्थलको निर्माण पूरा भएको कर्पोरेसनले जनाएको छ ।
१३ वर्षअघि सन् २००८ अगस्ट ८ तारिखमा पनि चीनले विशाल आतिबाजीसँगै बर्ड नेस्टमा ग्रीष्मकालीन ओलम्पिकको समारोह आयोजना गरेको थियो । उक्त आयोजनासँगै चीनले प्रत्येक वर्ष अगस्ट ८ तारिखलाई ‘राष्ट्रिय फिटनेस’ दिवसका रूपमा मनाउने गरेको छ ।
कर्पोरेसनका अनुसार बर्ड नेस्टको वार्षिक प्रयोग दर ८५ प्रतिशत छ । सन् २०२१ को पूर्वार्धसम्ममा १० हजारको उपस्थितिका माझ ३२० वटा ठूला प्रतियोगिता सञ्चालन भएका छन् । सन् २००८ को सेप्टेम्बरदेखि सर्वसाधारणका लागि खुला भएयता बर्ड नेस्टले ३५ मिलियन घरेलु तथा विदेशी पर्यटक आकर्षित गरेको छ। ओलम्पिक भावना तथा संस्कृतिको प्रसारका लागि बर्डनेस्ट रंगशाला चर्चित गन्तव्य बनेको छ ।
बेइजिङ हिउँदे ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ नगरपालिका र छिमेकी हपै प्रान्तको चाङ्च्याखौमा आयोजना हुनेछ। चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न लागेको यो पहिलोपटक हो । सन् २०१९ को डिसेम्बर ३० तारिखमा बेइजिङ-चाङच्याखौ उच्च-गतिको रेल सञ्चालनमा ल्याइएको छ जसबाट प्रतियोगितास्थलसम्म पुग्न एक घण्टा मात्रै लाग्छ । (स्रोत : इकान्तिपुर अनलाइन)






