काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नातर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो, “हामीले नयाँ प्रधानमन्त्री पाएका छौँ, बधाई दिन उभिएको छु, केही जिज्ञासा छन्, ती विषय सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु ।” नेपाली कांग्रेसका सभापति देउवा अदालतको परमादेशअनुरुप गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
विसं २०४८ देखिकै संसद्मा प्रधानमन्त्री देउवासँग एमालेको मित्रता र उठबस रहेको स्मरण गर्दै पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “हामी जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौँ, कस्तो संस्कृतिको विकास गर्ने भन्नेमा हामीले हेक्का गर्नुपर्छ ।” कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण कायम गर्ने सन्दर्भमा सर्वाेच्च अदालतको फैसलाले कमजोर तुल्याएको जनाउँदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने र ताजा जनादेशमा जाने कुरालाई निरंकुश भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।
“शक्ति सन्तुलनको सिद्धान्तका आधारमा सन्तुलन र समन्वय हुनुपर्छ, फैसलाबाट सन्तुलन खलबलिन पुगेको छ भन्ने भान भएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु चाहन्छु”, उपनेता नेवाङले भन्नुभयो, “बेठीकलाई बेठीक भन्छाँै, जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छाैं, प्रत्येक मन्त्रालयको अनुगमन गर्छाैं, सरकार के गर्दैछ भनी निगरानी राख्छाँै, तपाईसँग सम्बन्ध राख्छौँ, पार्टीभित्रका अरुसँग गठबन्धन गर्दैनौँ ।”
उहाँले दलबीच कतिपय विषय र मुद्दामा सिद्धान्त फरक धारणा, दृष्टिकोण र असहमति रहे पनि जनताले बनाएको संविधानमार्फत व्यवस्था गरिएको शक्तिपृथकीकरण, शक्ति सन्तुलन, लोकतन्त्र र दलीय अनुशासनका विषयमा भने देश पछाडि फर्कन्न भनी जनतालाई आश्वस्त तुल्याउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
आफ्नो पार्टीमा ह्विप लाग्ने तर अरु पार्टीमा ह्विप लाग्दैन भन्नु कति लोकतान्त्रिक हो भनी प्रश्न गर्दै नेम्वाङले अदालतबाट दलको निर्वाचन चिह्न र टिकटमा उठेको सांसदलाई पार्टीको नियन्त्रण नहुने व्यवस्थाले लोकतन्त्र र दलीय व्यवस्थालाई संस्थागत गर्न मलजल नगर्ने धारणा व्यक्त गर्नुभयो ।
सरकार विस्तार गर्न ढिलाइ भएका प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै उहाँले शान्ति प्रक्रियालाई पूर्णता दिन तथा लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा सफलतापूर्वक कार्यान्वयनमा लैजाने सवालमा आफ्नो पार्टीको पूर्ण सहयोग र समर्थन रहेको विश्वास दिलाउनुभयो । उहाँले मुलुकलाई विकासतर्फ लैजान अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षालाई पूरा गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
जसपाद्वारा प्रधानमन्त्री देउवालाई बधाई
जनता समाज पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठवन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थान एवं संघीयता कार्यान्वयनका लागि कानून बनाउने ठूलो कार्यभार रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवालाई प्रतिनिधिभसाको आजको बैठकमा बधाई तथा शुभकामना दिदैँ उहाँले ‘‘अदालतको ऐतिहासिक फैसलाबाट आगामी राजनीति र लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्दै अघि बढन सफलता मिल्ने छ भन्नुभएको थियो । ’’
सोही पार्टीका नेता अनिलकुमार झाले प्रधानमन्त्री देउवाले आफनो कार्यकालमा मधेशका मुद्धालाई सम्वोधन गर्न, विकास र समृद्धिका कार्यक्रमलाई अघि बढाउन सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ सरकारले सबै नागरिकलाई कोरानाविरुद्धको खोप व्यवस्थित रुपबाट अघि बढाउन ठोस पहल हुनेछ । देश र जनताका पक्षमा राम्रा कार्यक्रम अघि बढने छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङदेनले मुलुकले अनुभवी नेता प्रधानमन्त्री पाएकाले स–सना कामबाटै असल शुरुआत गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “जनताले एकै पटक ठूलो परिवर्तनको आशा यो सरकारबाट गरेका छैनन्, तर जति काम गर्नुहुन्छ, त्यो जनताले महसूस गर्ने खाले हुन् ।”
राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले पटक पटक प्रतिनिधिसभा विघटन गरी अघि बढ्न खोज्ने प्रतिगमनकारी प्रयासलाई जितेर बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सुझबुझपूर्ण तरिकाले जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “असल र राम्रा कामतर्फ सरकारको ध्यान जाओस, सरकारलाई सफलताको शुभ कामना छ ।” नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विशिष्ट व्यक्तिका नाममा राजसी ठाँट देखिएको प्रसंग उल्लेख गर्दै असारे विकासे बजेट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले कृषि वैज्ञानिकलाई अनुसन्धान गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै राजनीतिक कार्यकर्तालाई अनुशासित तुल्याउन आवश्यक रहेको बताउनुभयो ।






