जसपा ठाकुर पक्षका केही सांसद यादव पक्षकाे बैठकमा सहभागी

  साउन ०२, २०७८

काठमाडौं, साउन २ : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच जना सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा सहभागी हुनुभएको छ ।

शनिबार पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको छलफलमा अध्यक्ष ठाकुर पक्षमा पाँच जना सांसद पनि सहभागी हुनुभएको अर्का अध्यक्ष यादवले बताउनुभयो ।

उहाँले सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाथ जसपा संसदीय दलको छलफलमा सहभागी हुनुभएको जानकारी दिनुभयो । सहभागी भएका पाँच जना सांसदसहित यादव पक्षमा १७ सांसद छन् ।

ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजनको संघारमा पुगेको थियो । जसपा विवादबारे निर्वाचन आयोगले इजलास समेत गठन गरेको छ । आयोगले गठन गरेको इजलासमा आइतबार विहान ११ बजे सजपा विवाद निरुपणबारे बैठक राखिएको छ । यसका लागि जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।

यता, आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनताका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच भेटवार्ता भएको पार्टी स्राेतले जानकारी दिएकाे छ । छलफलमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायतका सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया