काठमाडौं, साउन २ : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदीय दलको बैठक बोलाउनुभएको छ । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाउनुभएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
बैठकमा भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकलगायत अन्य समसमायिक राजनीतिक विषयमा छलफल हुने सचेतक भुसालले जानकारी दिनुभयो । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।






