काठमाडौं, असार २९ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ। देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । वि.सं. २००३ जेठ ३१ गते गन्यापधुरा गाउँपालिका–१, असिग्रााम रुवाखोला, डडेल्धुरामा जन्मिनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाउनुभएपछि शपथ समारोह केही बेर ढिला भएको थियो । झन्डै दुई घन्टाको विवादपछि नियुक्तिपत्रमा सर्वोच्च अदालतको परमादेश र संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको भन्ने व्यहोरा थप गरिएको थियो ।
सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो । साथै, प्रतिनिधिसभा पुनःस्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । मंगलबार ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा जारी परमादेशमा भनिएको थियो ।
वि.सं. २०२२ सालबाट कांग्रेसमा आवद्ध हुनुभएको देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । यसबीचमा उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य, २०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ मै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।
यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको देउवालाई २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाउनु भएको थियो । २०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन र सभापति हुनुभएको देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुनुभएको देउवालाइ नौ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो ।
त्यसपछि २०६४ मा कांग्रेस एकीकरणपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता हुनुभएको थियो । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री हुनुभएको देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।






