काठमाडौं, असार २९ : जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।
जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकामा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।
उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।






