काठमाडौं, असार २६ : तालिबानले चीन अफगानिस्तानको मित्र रहेको प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग यीले अफगानिस्तानको मुद्दा चीन र पाकिस्तानसहित क्षेत्रीय सुरक्षाको विषय रहेकोले दुबै राष्ट्रले मिलेर सामना गर्नुपर्ने बताएको केही दिन नबित्दै तालिबानको चीनप्रतिको धारणा सार्वजनिक भएको हो ।
साउथ चाइना मोर्निङ्ग पोष्टसँग तालिबान बिद्रोहीले गरेको कुराकानीको आधारमा हिन्दूस्तान टाइम्सले तालिबानले अफगानिस्तानको निर्माणमा चिनियाँ लगानी महत्वपूर्ण हुने भन्दै चीन अफगानिस्तानको मित्र रहेको प्रतिक्रिया जनाएको उल्लेख गरेको छ । साउथ चाइना मर्निङ्ग पोष्टसँगको कुराकानीमा तालिबानका प्रवक्ता सुहैल शाहीनले यस प्रकारको धारणा राख्नुभएको हो ।
गत् साता मात्रै चीनले अफगानिस्तानबाट २१० जना आफ्ना नागरिकलाई चाटर्ड विमानबाट वेइजिङ्ग ल्याएको थियो । शाहीनले भने चिनियाँ लगानीकत्र्ता र कामदारलाई तालिबानले लक्षित नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । अफगानिस्तानमा ठूलो मात्रामा तामा, कोइला, फलाम, ग्याँस, कोबाल्ट, सुन, लिथियम, थोरियमको खानी रहेको छ ।
चीनले अफगानिस्तानमा खानी अन्वेषण गर्न लगानी गर्ने प्रयास गर्दै आएको छ । तालिबानका प्रवक्ता शाहीनले आफू कैयौंपटक चीन गएको र चिनियाँसँग राम्रो सम्बन्ध रहेकोले लगानी गर्न इच्छुक भए आफूहरु सुरक्षा प्रदान गर्ने बताएको मोर्निङ्ग पोष्टले उल्लेख गरेको छ । तालिबानले चीन सीञ्ज्याङ्ग प्रान्तका विगर मुस्लिमलाई अफगानिस्तानी भूमि प्रयोग गर्न नदिने समेत बताएको छ ।






