लमजुङ, असार २४ : लमजुङको दोर्दी गाउँपालिकामा बाढीपहिरोले क्षति पु-याएको स्थानको तटबन्धका लागि नेपाली सेना खटिएका छन् । बाढीले क्षति पु-याएको दोर्दी गाउँपालिका ८ हिलेबजार क्षेत्रमा तटबन्धका लागि बेंसीसहर नगरपालिका १ उदीपुरस्थित श्री जंग गणका नेपाली सेना खटिएका छन् ।
गणका गणपति, प्रमुख सेनानी जयराम थापाका अनुसार गणका प्रभावित क्षेत्रको तटबन्धमा ३५ जना सेना खटिएका छन् । गणका सह सेनानी रमेश अधिकारीको नेतृत्वमा ३५ जना खटिएको उहाँले बताउनुभयो । असार २१ गतेबाट तटबन्धको काम सुरु भएको उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उक्त काम भइरहेको छ ।
लगातारको भीषण वर्षाले दोर्दीखोलामा आएको बाढीले ठूलो क्षति पु-याएको थियो । उक्त ठाउँमा थप बाढी आउँदा थप समस्या हुने भन्दै तटबन्धका लागि सेना खटिएका हुन् । दोर्दीखोला नजिकै रहेको फलेनी माध्यमिक विद्यालयको भवन र करिव ३० घर बाढीले कटान गरी बगाउने अवस्थामा यसको संरक्षणका लागि ढुंगाको ग्याबीन वायर राख्ने काम थालिएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार हिलेबजार क्षेत्रको संरक्षणका लागि तटबन्धको काम भइरहेको छ । नेपाली सेनासंगै स्थानीय तटबन्धको कार्यमा खटिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘बाढीले कटान गर्दा त्यहाँको वस्ती र विद्यालयको भवन नै बगाउने अवस्थामा छ । थप पानी परेर बाढी आउँदा झन जोखिम हुन्छ भनेर यसको व्यवस्थापनमा लागेका छौं ।’ भू तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीले उपलब्ध गराएको ग्याबीन जाली लगाउन थालिएको उहाँले बताउनुभयो । ९० थान ज्याबीन जाली लगाउने कार्य असार २६ गतेसम्म सकाउने लक्ष्य रहेको छ ।
सेनासंगै केही स्थानीय पनि तटबन्धका लागि खटिएका छन् । स्थानीयले ५ दिन श्रमदान गर्ने भएका छन् । तटबन्ध भइरहेको क्षेत्रको बुधबार प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक नवराज थापा, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दिलबहादुर घले, वडाध्यक्ष तुलबहादुर घलेले निरीक्षण गरेका छन् । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर घलेले तटबन्ध पछि नागरिक त्रासमा बस्नु नपर्ने बताउनुभयो ।
ठूलो पानी पर्दा वस्ती र विद्यालयको भवन जोखिममा पर्न सक्ने भएकाले तटबन्ध भइरहेको उहाँले बताउनुभयो । नागरिकको वासस्थान संरक्षणका लागि तटबन्धका लागि पहल गरिएको बताउनुभयो । असार ३१ गते रातिको भीषण वर्षाका कारण आएको बाढीले हिलेबजारका १८ घर बगाएको छ । ४३ घर उच्च जोखिममा रहेको छ । ५३ घर जोखिममा परेको छ । एउटा सामुदायिक भवन पनि बगाएको छ । हिलेबजारमा कुल ११४ घर छ ।






