शुभलक्ष्मी लम्साल
उमङ्गकाे ध्वजा बाेकेर
हिड्दै थियौँ विजयको परेडमा
बीच लहरबाट कहाँ हरायाै ?
रङ्गीन किरणहरू लिएर
कि नयाँ सिर्जनामा लाग्यौं ?
कि बादल पारिको आकाशमा डुब्यौ ?
क्यानभास रित्तो पारेर
तिमी कहाँ बिलायौ ?
सपनाजस्तै
स्मृति मात्र चटक्क छोडेर
कि बाटो बिराएर निर्मोही बनी बहकियौ ?
दिनमा विलय हुने तारा जस्तै
कहाँ अदृश्य भयौं ?
नुपुरको छमछममा जीवनको झन्कार
सङ्लाे ऐनामा अनन्त अनुहार
साक्षी थियो अग्नि, यी वनपाखाहरु
जनम जनम काट्ने
दुःख सुख बाड्ने चाहनाको ।
प्रतीक्षा गर्न पनि अराएनौ
चर्केको ऐना भित्र शून्य आकृती दिएर
बीछ मझधारमा छाडेर तिमी कहाँ हरायौ ।
तिर्खा पनि छैन
तृष्णा पनि कहाँ छ र?
चिराचिरा परेको मुटुसँग
जङ्घारै जङ्घारकाे कठिन बाटोमा छाेडी
क्षितिजको निस्तब्धता जस्तै
भन न शून्यमा कहाँ लुक्यौ ?
सायद
यो अपुरो परेड पूरा गर्नु छ
लड्खडाएको यी गोडाले
मनमा जोसिला स्मृतिहरु सङगालेर
आँसुको सिन्चनले
मरुभूमिमा हरियो दुबो उमार्नु छ ।
उभ्याउनु छ कङ्त्रिटकाे जीवनमा
निर्भय रुपमा अडिग
अग्ला र सग्ला स्तम्भहरु।
हिँडाउनु छ काँडैकाँडाकाे गाेरेटाेमा
फक्रन बाँकी फूलहरूलाई
जहाँअझै मगमगाउनु थियाे तिमीले
ती फूलकाे सुगन्धमा
अझै बात्तिनु थियो मनमोहक हरियालीमा ।
हो, अहिले पनि म सँग छ त्यो उर्वरता
अगााध विस्वास छ
हरदम साथ छौ तिमी
मेरो छाया बनी मलाई पछ्याइरहेको ।
(साभार : “प्रकम्पित उज्यालो” कविता सङ्ग्रह)