काठमाडौँ, असार २२ : सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत हालसम्म एक हजार ७६८ बालबालिकाको उद्धार गरिएको छ । यो अभियान सुरु भएको करिब छ वर्षको अवधिमा ती बालबालिकाको उद्धार गरिएको राष्ट्रिय बालअधिकार परिषद्ले जानकारी दिएको हो । त्यसमध्ये एक हजार ५२६ बालक र २४२ जना बालिका छन् ।
विविध कारणले सडकमा पुगेका बालबालिकालाई उद्धार गर्ने योजनासहित नेपाल सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि काठमाडौँ उपत्यकाबाट सडक बालबालिकाको उद्धार थालेको थियो । सडकमा पुगेका बालबालिका निकृष्ट श्रम गर्ने, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित रहने र दुव्र्यवहार र दुव्र्यसनमा समेत पर्न थालेपछि ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन’ भन्ने नारासहित काठमाडौँ उपत्यकाबाट थालिएको यो अभियान हाल राष्ट्रिय बालअधिकार परिषद्मार्फत देशभर सञ्चालनमा रहेको छ ।
उद्धार गरिएका ८६६ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गरिएको, १८४ जनालाई विभिन्न सीपमूलक तालिम दिइएको परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले जानकारी दिनुभयो । साथै ५९ जना तालिम पूरा गरी रोजगारीमा लागेका छन् भने ६५९ जनालाई अस्थायी संरक्षण केन्द्र तथा दीर्घकालीन संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ । डकमा पुगेर बसेकालाई हामीले विचरा वा दयामायाको भावले मात्र संरक्षण गर्ने होइन कि उनीहरूको क्षमताको अधिकतम उपयोगको अवसर पनि दिनुपर्छ भन्ने लक्ष्यले परिषद्ले ती बालबालिकालाई आगामी दिनमा ‘स्ट्रिट टु स्टेडियम’को अवधारणामा काम गर्ने लक्ष्य राखेको कार्यकारी निर्देशक धरेलले जानकारी दिनुभयो ।
सडकमा बालबालिका देखिनेबित्तिकै बाल हेल्पलाइन (१०९८) तथा बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) एवं प्रहरीलाई सूचना दिन आग्रह गर्दै उहाँले यस अभियान सफल बनाउन ‘सबै नेपाली जुटौँ र बालबालिका सडकमा पुग्ने वातावरण समाजमै अन्त्य गरौँ’ भन्नुभयो ।






