काठमाडौँ, असार १९ : देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू–क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढन्सक्ने भएकालै दैनिक जीवन-यतायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सचेतना अपनाउन सबैमा अनुरोध गरेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।
आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कतिपय स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २३ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस रहेको छ ।
काठमाडौँ उपत्यकामा गएराति देखिनै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ४६ मिलिमिटर वर्षा भएको छ । शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुङ्गामा ४० मिलिमिटर वर्षा भएको छ ।
झापामा अत्यधिक वर्षा
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको जनाउँदै नदी आसपासमा आउन सक्ने बाढीबाट सतर्क रहन चेतावनी दिएको हो ।
मेची, कनकाई, बिरिङ, निन्दा र रतुवा नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ । भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ ।
यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । झापामा सबैभन्दा बढी बाढीको जोखिम कन्काई नदी आसपासमा रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार पूर्वानुमानमा आधारित आपतकालीन बाढी पूर्वतयारी अन्तर्गत कन्काई जलाधारका चार पालिका कन्काई, झापा, शिवसताक्षी र गौरीगञ्जमा एक हजार ६६५ घरधुरी बाढीको उच्च जोखिममा छन् ।
बाढीबाट उच्च जोखिममा रहेका घरधुरीको डिजिटल रजिस्ट्रेसन गर्नका लागि शुक्रवार सो जलाधार क्षेत्रमा पर्ने चार वटै पालिकामा रेडक्रस झापाले समन्वय बैठक गरेको थियो । विगत दुई दिनदेखि लगातार वर्षा भइरहेको कारण नदीहरुमा पानीको बहाव बढ्न थालेको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताउनुभयो ।
उहाँले नगरको वडा नं. ४ को भेलामुनी र वडा नं. ५ को हात्तीसार क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेको जानकारी दिनुभयो । वडा नं. ६ को ढकालपुर, ७ को झारबारी, ९ को वैशाबाडी र १० को कन्काई पुल नजिक बाढीले क्षति पुरयाउन सक्ने आँकलन गरिएको उहाँको भनाइ छ ।
आज बिहानदेखि झापाका सबै क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । ठूला नदी मात्र होइन, साना खोला र खोल्सामा समेत बाढी आउन थालिसकेको छ ।
जनकपुरधाम उपमहानगरपालिका जलमग्न
अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।
ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ । बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।






