तनहुँ, असार १८ : चुँदी खोलामा आएको बाढी पसेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेलाई शुक्रबार स्थानान्तरण गरिएको छ ।
कार्यालयको तल्लोभाग (पहिलो तल्ला) मा बाढी पसेर जलमग्न भएकाले सोही ठाउँ नजिकै रहेको निर्माणधीन तरकारी तथा फलफूल केन्द्रमा तत्कालको लागि स्थानान्तरण गरिएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । कार्यालयमा २८ जना सुरक्षाकर्मी रहेका छन् ।
खोलाले थुपारेको गेग्राङलाई हटाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । बाढी पसेर कार्यसम्पादन गर्न अप्ठ्रो परेकोले बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तत्कालको लागि अस्थायी वासस्थानको उक्त स्थानको व्यवस्था मिलाईदिनु भएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।
डुम्रे–वेशीसहर खण्ड र विद्युत सेवा अवरुद्ध
बन्दीपुुर गाउँपालिका–१ ठुलो ढुङ्गा, डुम्रे र भानु नगरपालिका–१ साँझबोटेमा विद्युतका पोलहरु पहिरोले ढलेकाले विद्युत सेवा अवबरुद्ध भएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो । धेरै ठाउँमा पहिरो गएकोले विद्युतको पोल ठडाउन तारको व्यवस्थापन गर्न तीन दिन लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच पहिरोले अबरुद्ध बनेको डुम्रे–बेसीसहर खण्ड खुलाउने प्रयाश भईरहेको छ । भानु नगरपालिकोको भन्सार र पाँचसय फाँटमा गएको ठुलो पहिरोले विहीबार देखि नै सो खण्ड अबरुद्ध भईरहेको छ । डोजरले पहिरो हटाउने काम भईरहेकोले शुक्रबार साँझबाट सञ्चालनमा आउने सम्भावना रहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।






