काठमाडौं, असार १७ : इटालीको सेनाले अफगानिस्तानको हेरातस्थित विमानस्थल अफगान सेनालाई हस्तान्तरण गरेको छ । इटालीका सेना अफगानिस्तानबाट बाहिरिन लागेपछि आफ्नो नियन्त्रणमा रहेको विमानस्थल हस्तान्तरण गरेको हो ।
हेरात विमानस्थल दुई दशकदेखि इटाली सेनाको नियन्त्रणमा छ । बिहीबार नै इटाली सेनाले सैन्य उपकरण हटाएको छ । केहीलाई नष्ट गरेको छ । टोलो समाचारले अफगान सेनालाई उद्धृत गर्दै इटाली सेनाले शिविर खाली गर्ने क्रममा गह्रुगो उपकरण नष्ट गरेको छ ।
अफगान सेनाका मेजर जनरल सैएद इमाल पचाले इटाली सेनाले अफगान सेनाका लागि कुनै उपकरण नछोडेको बताउनुभयो । अफगानिस्तानका गभर्नर अब्दुल सबूर कानेले भने पश्चिमी अफगानिस्तानको हेरातमा आफ्ना सुरक्षाकर्मी रक्षा अपनाउन सक्षम रहेको बताउनुभएको छ ।
यसैबीच, जर्मनीले पनि आफ्नो सेना फिर्ता ल्याएको छ । अफगानिस्तानबाट जर्मनीका ५७० सेना फिर्ता भएका छन् । जर्मनीले अफगानिस्तान मिसनका लागि दुई दशक अघि सेना पठाएको थियो । अमेरिकाले सन् २०२१ को सेप्टेम्बर ११ सम्म सबै सेना फिर्ता ल्याउने निर्णय गरेपछि अफगानिस्तानमा रहेको जर्मनी र इटालीका सेना समेत फिर्ता भएका हुन् ।






