काठमाडौं, असार १६ : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको बिद्रोही संगठन तालिबानलाई जारी हिंसा त्यागेर वार्तामा आउन आग्रह गरेको छ ।
गत् मई एकपछि अफगानिस्तानस्थित अमेरिकी सेना स्वदेश फित्र्ता हुन थालेपछि तालिबान समूहले आक्रमणको घटनामा तिब्रता दिएको छ । तालिबानले आक्रमणको घटना बढाउँदै अनेकौं जिल्ला नियन्त्रणमा लिएको छ ।
अमेरिकी गुप्तचर निकायले भने सेना फित्र्ता भएको केही महिनाभित्रै समग्र अफगानिस्तान नै बिद्रोही समूह तालिबानको नियन्त्रणमा आउने सुझाएको छ ।
अफगानिस्ताको काबुलस्थित अमेरिकी राजदूत रस विल्सनले तालिबान समूहलाई जारी हिंसा त्यागेर वार्ताको टेबुलमा आउन आग्रह गर्नुभएको छ । उहाँले ट्वीट गर्दै लेख्नुभएको छ, “नागरिकलाई लक्षित गरेर हिंसात्मक घटना बढ्दै जानु चिन्ताजनक हो, हामी चाहन्छौं वार्तामार्फत् समाधान होस् ।”
काबुल अमेरिकी उच्च सैन्य अधिकारी अष्टिन मिलरले मंगलबार हिंसा बढ्दै गए गृहयुद्ध निम्तिने जोखिम रहेको प्रतिक्रिया दिनुभएको थियो ।






