आतङ्कवादी समूहसँगको दोहोरो भिडन्त, दुई पाकिस्तानी सेनाको मृत्यु

  असार १६, २०७८

काठमाडौं, असार १६ : अफगानिस्तानसँग जोडिएको पाकिस्तानी सीमा क्षेत्रमा आतङ्कवादी समूहसँगको दोहोरो भिडन्तमा दुई जना सेनाको मृत्यु भएको छ । बुधबार बिहान खैबर पख्तनुवाको उत्तरी वजरिस्तान क्षेत्रमा उक्त भिडन्त भएको हो ।

डाँन समाचारका अनुसार अफगानिस्तानी भूभागबाट पाकिस्तान सैन्य जाँच केन्द्रमाथि आतङ्कवादी समूहले अचानक फायरिङ्ग खोल्दा दुई सैन्यको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय नइक परवेज र ४३ वर्षीय हवल्दार सलीम रहेका छन् ।

पाकिस्तानी सेनाले भने अफगानिस्तानको भूभाग प्रयोग गरेर पाकिस्तान बिरुद्ध हुने आतङ्कवादी गतिबिधि निन्दनीय रहेको जनाएको छ । उसले अफगानिस्तानलाई सीमा सुरक्षा प्रभाबकारी नियन्त्रण सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराएको जनाएको छ ।

अमेरिकी सुरक्षा फौज अफगानिस्तानबाट फित्र्ता हुन लागेपछि तालिबान र अफगानिस्तानको सेनाबीच पछिल्ला दिनहरुमा भिडन्तको घटना बढेको छ ।

तपाईको प्रतिक्रिया