काठमाडौं, असार १३ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठक सम्पन्न भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकाले सोमबार बस्ने गरी बैठक सकिएको हो ।
अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । सोमबार विहान बस्ने बैठकले यस विषयमा निर्णय लिने उहाँले जानकारी दिनुभयो ।
आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सीडीओकै तहबाट टुंग्याइएको स्रोतले बतायो । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का एक पदाधिकारीले भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ, सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।’
ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । एक अधिकारीका अनुसार संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो ।
उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।
प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन । सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न दिइनेछैन । शैक्षिक संस्थामा बन्द कायमै रहेछन् । खुकुलो गरिएका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना भए, नभएको विषयमा अनुगमनलाई तीव्रता दिइने प्रशासन कार्यालयहरुले बताएका छन् ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।






