काठमाडौं, असार ११ : अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किदा कम्तिमा १५९ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । उक्त दुर्घटनामा कम्तिमा चार जनाको मृत्युको पुष्टि भएको छ ।
मेरिकी राष्ट्रपति जोइ बाइडेनले फ्लोरिडाका लागि आपातकालको घोषणा गर्नुभएको छ । आपातकाल घोषणाले संघीय आपातकाल ब्यवस्थापन निकायले राज्य निकायलाई उद्धार कार्यमा सहयोग गर्ने भएको छ । राति नै सयौंको संख्यामा उद्धारकत्र्ता परिचालन गरिएको छ ।
बीबीसीले प्रशिक्षित कुकुर परिचालन गरेर भग्नावशेषबाट जिवितै ब्यक्ति उद्धार गर्ने प्रयास भइरहेको उल्लेख गरेको छ । भग्नावशेषसम्म पुग्न भवन नजिकैको कार पार्किङ स्थल भएर सुरुङ्ग खन्ने कार्य गरिदैछ ।
बीबीसीका अनुसार मियामीस्थित एक आबासीय क्षेत्रमा रहेको १२ तल्ले भवन भत्किएको हो । उद्धारकत्र्ताले ३५ जनालाई जिवितै बाहिर निकालेको छ । जसमध्ये दश जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ भने दुईजनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उक्त ब्लक सन् १९८० मा निर्माण भएको थियो ।
मियामीका मेयर डेनिएल लिभाइन काभाले भग्नावशेषमा फसेकालाई अझै जिवितै उद्धार गर्ने प्रयास भइरहेको बताउनुभएको छ । भवन भत्किदा उक्त क्षेत्रमा रहेका १३० मध्ये अधिकांश भवन प्रभाबित भएको छ । हराइरहेकामध्ये केही ल्याटिन अमेरिकी अप्रबासी रहेको बताइएको छ । पराग्वेकी प्रथम महिलाकी आफन्त समेत उक्त दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन् ।






