काठमाडौं, जेठ २० : नेकपा (एमाले) निकट जनवर्गीय संगठनहरुले पार्टी एकताको पक्षमा रहेको बताएका छन् । एमाले निकट १७ जनवर्गीय संगठनका अगुवाहरुले आज जारी विज्ञप्तिमा भनिएको छ, हामी चाहन्छौं, आम नेता तथा कार्यकर्ता चाहन्छन्, ‘एकताबद्ध नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिष्ट आन्दोलन सृदृढ बनोस् ।’
साथै, विज्ञप्तिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाउन समेत माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस् । यदि त्यसो नगरिए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्छ, यदि त्यस्तो अवस्था आए, हामी त्यसो हुन दिने छैनौं ।






