काठमाडौँ, जेठ २० : कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण बढ्दो क्रममा सरकारले गरेको निषेधाज्ञाबीच पनि बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह घटेको छैन । निषेधाज्ञाका कारण बैङ्कहरूका अधिकांश शाखा बन्द रहे पनि कर्जा प्रवाह भने सुस्ताएको छैन ।
नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार जेठको सुरुदेखि नै बैङ्कहरूको कर्जा लगानी १५ अर्ब रुपियाँले बढेको छ । वैशाख १६ गतेदेखि निषेधाज्ञा भएयता बैङ्कहरूको कर्जा लगानी ३४ अर्ब रुपियाँले बढेको छ । निषेधाज्ञामै बैङ्कहरूले औसतमा एक अर्ब बढी कर्जा लगानी गर्दै आएका छन् ।
निषेधाज्ञा अघिको तुलनामा बैङ्कहरूको निक्षेप र कर्जा केही सुस्ताएको भए पनि गत वर्ष जस्तो ठप्प भने नभएको एसोसिएसनले जनाएको छ । गत वर्ष बन्दाबन्दी सुरु भएदेखि बैङ्कहरूको कर्जा लगानी निकै कम भएको थियो । जसले गर्दा बैङ्कहरूमा लगानीयोग्य रकम अधिक मात्रामा थुप्रिएको थियो ।
बैङ्कहरूमा यो वर्ष निक्षेप सङ्कलन पनि बढ्न सकेको छैन । निषेधाज्ञा सुरु हुनुअघि नै ग्राहकले नगद सञ्चित गर्न थालेपछि बैङ्कहरूमा निक्षेप सङ्कलन घट्दो क्रममा देखिएको थियो । अहिले पनि निक्षेपको वृद्धि दरमा सुधार आइसकेको छैन । गत साता मात्रै वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन पाँच अर्बभन्दा धेरैले घटेको छ ।
बैङ्कहरूले सीमित शाखाबाट मात्र सेवा दिइरहेकाले पनि बैङ्कहरूमा निक्षेप नआएको भने राष्ट्र बैङ्कले ५० हजारभन्दा कम रकम निक्षेप राख्न बैङ्क नजान आग्रह गरेका कारण पनि सानो सानो निक्षेप थपिएन । जेठको दोस्रो सातामा वाणिज्य बैङ्कहरूको पाँच अर्ब निक्षेप घटेको छ भने नौ अर्ब कर्जा प्रवाह भएको छ ।
जेठको पहिलो साता वाणिज्य बैङ्कहरूले छ अर्ब निक्षेप सङ्कलन गर्दा छ अर्ब नै कर्जा प्रवाह गरेका थिए । जेठ दुई साता अर्थात् १४ गतेसम्म बैङ्कहरूमा एक अर्ब निक्षेप बढेको छ भने १५ अर्बले कर्जा विस्तार भएको गोरखापत्र अनलाइनले जनाएको छ ।