भियतनाममा फेला परेको नयाँ भेरियन्टको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने

  जेठ १७, २०७८

हनोई, जेठ १७ : भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताउनुभयो । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

पछिल्ला सातामा भियतनाममा कोभिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ । महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन् ।

तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा कोभिड जोडिएका मृत्युका घटना पुष्टि भएका छन् ।

रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ- “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ ।” उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन् ।

उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए । अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाक रूप लिएको छ ।

तपाईको प्रतिक्रिया