नयाँ दिल्ली, जेठ १६ : भारतको राजधानीसमेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको संख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्यांकमा बताइएको छ ।
यो अवधिमा दिल्लीमा ९४६ व्यक्ति कोभिड–१९ संक्रमित भएका छन् भने ७८ संक्रमितको मृत्यु भएको छ । भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा समग्र भारतमा जस्तै संक्रमण दरमा निकै कमी आएको बताइएको छ । दिल्लीमा आइतबार निको हुनेको संख्या एक हजार ८०३ कायम भएको छ । दिल्लीमा संक्रमण दर १.२५ कायम भएको छ ।
दिल्लीमा अहिलेसम्म कूल एक करोड ९२ लाख ३७ हजार ४० व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ भने विगत २४ घण्टामा ७५ हजार ४४० व्यत्तिले परीक्षण गराएका थिए ।
सरकारी तथ्यांक अनुसार दिल्लीमा अहिलेसम्म कोभिड संक्रमितको संख्या १४ लाख २५ हजार ५९२ पुगेको छ । योमध्ये अझै १२ हजार १०० व्यक्ति सक्रिय संक्रमित रहेका छन् । दिल्लीमा कोभिड–१९ संक्रमण भई निको हुनेको संख्या १३ लाख ८९ हजार ३४१ रहेको छ भने २४ हजार १५१ व्यक्तिले महामारीका कारण ज्यान गुमाएका छन् ।






