बेलायतले पठायाे स्वास्थ्य टाेलीसहितकाे सहायता

  जेठ १४, २०७८

लण्डन, जेठ १४ : नेपालमा देखिएको कोभिड १९ महामारीमा सहयोग गर्न संयुक्त अधिराज्य (बेलायत) सरकारले स्वास्थ्य सामग्रीसहितको एक सहायता टोली काठमाडौँ पठाएको छ । नेपाल सरकारको अनुरोध र बेलायतस्थित नेपाली राजदूतावासको पहलमा बेलायत सरकारले चारजना मेडिकल टोलीसहित २६० वटा भेन्टिलेटर, भेन्टिलेटरलाई आवश्यक पर्ने अन्य सामग्री, १९ हजार २०० वटा फेस शिल्डलगायत स्वास्थ्य सामग्री पठाएको हो ।

लण्डनको सोझो उडानबाट स्वास्थ सामग्री लिएर विमान शुक्रवार(आज) काठमाडौँ पुग्ने दूतावासले जनाएको छ । यसैगरी नेपाल मेड यूकेबाट प्राप्त गैर आवासीय नेपाली महासङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा दशवटा अक्सिजन कन्सस्ट्रेटरह पनि सोही उडानबाट पठाइएको छ । नेपालस्थित बेलायती दूतावासले पनि कोभिड महामारीको बेला नेपाललाई भेन्टिलरसहित स्वास्थ्य सामग्री नेपाल पठाइन लागेको जनाएको छ ।

लण्डनस्थित नेपाली राजदूतावासले बेलायत सरकार,नेपाली समुदाय,बेलायतमा रहेका नेपाली शुभेच्छुकसँग सहयोग पठाउनका लागि समन्वय गरिरहेको छ । बुधबार मात्रै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतका रक्षामन्त्री बेन वालेसलाई भेट गर्नुभएको थियो । गत सातामात्रै राजदूत रेग्मीले बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदलाई भेटेर सहयोगका लागि अनुरोध गर्नु भएको थियो ।

भेटका क्रममा राजदूत रेग्मीले द्धिपक्षीय हितका विषय बाहेक नेपालको स्वास्थ स्थितबारे जानकारी गराउँदै स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो । भेटमा नेपाललाई प्राथमिकतामा राखेर कोभ्याक्सअन्र्तगत चालिस लाख खोप उपलब्ध गराउन राजदूत रेग्मीले उहाँहरुसँग अनुरोध गर्नु भएको थियो । जवाफमा मन्त्रीले नेपालको स्वास्थ्य अवस्थाबारे बेलायत जानकार रहेको बताउँदै नेपाललाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन पहल गर्ने बताउनु भएको थियो ।

नेपाललाई स्वास्थ्य सामग्री र खोप सहयोग गर्ने विषयमा बेलायतको उपल्लो संसद हाउस अफ लर्डसमा पनि छलफल भएको थियो । सांसदहरुले बेलायतको पुरानो दौत्य सम्बन्ध भएको नेपाललाई यथासक्य सहयोग गर्न सरकारलाई आग्रह गरेका थिए । यसैगरी नेपाली समुदायका सक्रिय सङ्घसंस्था र व्यक्तिले पनि बेलायतका विभिन्न स्थानका काउन्सिलर, सांसदसहितका प्रतिनिधिलाई बेलायत सरकारमार्फत नेपाल सहयोग गर्न अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया