राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई पत्र

  जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दस लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । नेपालले दस लाख मात्रा खोप खरिदका लागि पहिल्यै रकम भुक्तान गरिसकेको छ ।

सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनु भएको छ । सो पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण उत्पन्न सङ्कटले त्यहाँको धेरै जनताको ज्यान गएकोमा दुःख प्रकट गर्नुभएको छ ।

महामारीबाट प्रताडित रहेको अवस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । अझ नेपाल–भारतबीच रहेको खुला सिमानाले नजिक बनाएको सम्बन्धका कारण पनि थप साझेदारी र सहकार्य आवश्यक रहेको उहाँले औँल्याउनु भएको छ ।

राष्ट्रपतिले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद प्रकट गर्नुभएको छ । उहाँले लेख्नु भएको कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयले मङ्गलबार नै भारतीय राष्ट्रपतिको कार्यालयमा पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

नेपालले भारतसँग २० लाख मात्रा कोभिसिल्ड खोप खरिदका लागि भुक्तान गरेकोमा दस लाख मात्रा मात्र खोप नेपाल आएको छ । भारतमै कोरोना तीव्र प्रसार भएपछि बाँकी दस लाख मात्रा भारतले दिन सकेको छैन । सोही खोपका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलमार्फत सहजीकरणका लागि अनुरोध गरिरहेको छ ।

तपाईको प्रतिक्रिया