उपचार गरेर फर्कने क्रम बढेपछि बाँकेमा ५८ शैया खाली

  जेठ ११, २०७८

नेपालगञ्ज, जेठ १० : केही दिन पहिलेसम्म अस्पतालमा बेड र अक्सिजन नपाएर बरण्डादेखि चौरसम्म सङ्क्रमितको उपचार गनुपर्ने बाध्यता रहेकोमा हाल आएर सो बाध्यता समाप्त भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार हाल आएर बाँकेमा सङ्क्रमित थपिने क्रम घट्दै गएको र अस्पतालमा रहेकाहरु पनि उपचारपछि निको भएर घर फर्किन थालेकोले अहिले बाँकेमा बेड र अक्सिजनको अभाव छैन ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका सहजकर्ता नरेश श्रेष्ठले बाँके जिल्ला ठुलो सङ्कटबाट सहजतातर्फ आएको जनाउँदै अहिले जिल्लाका विभिन्न अस्पतालमा कोभिड वार्डका ५८ वटा बेड खाली रहेको र अक्सिजन पनि प्रयाप्त मात्रामा रहेको बताउनुभयो । उहाँले सबैको सहयोग र सहकार्यमा सङ्क्रमणको भयावह अवस्थालाई पार गरेर सहज अवस्थामा पुगेको जनाउँदै हाल भेरी अस्पतालमा ११ बेड, मेडिकल कलेजमा २९ बेड, वेस्टर्न अस्पतालमा १३ बेड र युनाइटेड अस्पतालमा ५ बेड गरेर ५८ कोभिड बेड खाली रहेको बताउनुभयो ।

कोरोना सहजकर्ता श्रेष्ठका अनुसार बेड र अक्सिजन नपाएर अस्पतालको बरण्डामा सङ्क्रमितको मृत्यु जस्तो कहालीलाग्दो अवस्थाबाट बेड खालीसम्मको अवस्थामा पुग्दा स्वास्थ्यकर्मी र अस्पतालहरुले ठुलो राहात महसुस गरिरहेका छन् । गत तीनदेनि देखि बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या करिब करिब शून्यमा पुगेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । तीन दिनको अवधीमा सोमवार दिउँसो मात्र बाँके कोहलपुरका ४२ वर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँले गत तीन दिनयता बाँकेमा ९१ देखि ११४ जनाको बीचमा नयाँ सङ्क्रमित फेला परेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया