भारतमा एक दिनमा साढे दुई लाख सङ्क्रमित, चार हजारको मृत्यु

  जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : भारतमा पछिल्लो २४ घण्टामा साढे दुई लाखभन्दा बढी कोभिड-१९ का सङ्क्रमितको पुष्टि भएको छ । सरकारी अधिकारीहरुका अनुसार शनिबार २४ घण्टामा दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।

समाचार संस्था एएनआईका अनुसार भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया