काठमाडौं, जेठ ६ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । स्थायी कमिटी सदस्य तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले साे कुराकाे जानकारी दिनुभयो ।
आजको बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठक लगत्तै मन्त्रिपरिषदको बैठक बस्ने तयारी गरिएको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ ।
आज अपरान्ह ५ बजेका लागि कार्यदलको बैठक तय गरिएको छ । आजको स्थायी कमिटी बैठकमा कार्यदलमा भएको छलफल र प्रगतिबारेसमेत व्रिफिङ हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले बजेटअघि नै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको पार्टी स्रोतले बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ । सोअघि नै विश्वासको मत लिएर अगाडि बढ्ने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ ।






