५१ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलद्वारा शुभारम्भ

  जेठ ०५, २०७८

काठमाडौं, जेठ ५ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गर्नुभएको छ । मारवाडी सेवा समितिले गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार औपचारिक शुभारम्भ गर्नुभएको हो ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको सो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गर्नुभएको उहाँको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । “कोभिडविरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो । सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन” उहाँले थप्नुभयो, “सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।”

तीन सय शैयासम्म सञ्चालन गर्न सकिने यस आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतवद्धता जनाउनुभयो । एक बर्षअघि कोभिडको पहिलो लहर चलेकाबेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अबस्था स्मरण गर्दै उपप्रधानन्त्री पोखरेलले भन्नुभयो– “अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौंं, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना भएका छन् ।”

ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा समस्या भएको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले यो अभावलाई जति सक्दो चाँडो पूरा गरिने बताउनुभयो । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी दिनुभयो । सातवटै प्रदेशमा सातवटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट व्यवस्था गरिसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया