नेपालगञ्ज, वैशाख ३० : बाँकेका अस्पतालहरुमा थप दश जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो १५ घण्टामा मृत्यु हुने दश जना मध्ये अधिकांश युवा युवती रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेहरुमा अधिकांश ३२ वर्षदेखि ४३ वर्षका रहेका छन् ।
कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा चार जना र मेडिकल कलेज कोहलपुरमा ६ जना गरि थप १० जना संक्रमितको मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१ का ४३ वर्षिया महिला, राजापुर–६ बर्दियाका ५६ वर्षिया महिला, गुलरिया नगरपालिका–८ बर्दियाका ३२ वर्षिया महिला, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ४३ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेका ६४ वर्षिय पुरुष र तुलसिपुर उपमहानगरपालिका–५ दाङका ३५ वर्षिया महिला हुनुहुन्छ ।
यस्तै डुडुवा गाउँपालिका–३ बाँकेका ५० वर्षिया महिला, नरैनापुर गाउँपालिका–५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१२ का ७५ र २९ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १६३ जना र बाँकेकै नागरिक २१३ जना गरेर ३७६ जनाले ज्यान गुमाईसकेका छन् ।
उता, गत केही दिनको तुलनामा संक्रमित थपिने क्रममा भने बुधवार केही कमी आएको छ । बुधबार बाँकेका तीन वटा प्रयोगशालामा गरिएको एक हजार एक जनाको परीक्षणमा ५६३ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये बाँकेका ३९८ जना मात्र रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्दले जनाएको छ ।






