लुम्बिनी प्रादेशिक अस्पतालमा तत्काल अभाव

  बैशाख २५, २०७८

बुटवल, वैशाख २५ : कोरोना सङ्क्रमितको चाप बढिरहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन सिलिण्डर सकिएको छ ।

अक्सिजनको अभावले गर्दा आकस्मिक कक्षका बिरामीहरुको उपचारमा समस्या भएकोले तत्काल अक्सिजनसहितका सिलिण्डरको प्रबन्ध गर्न अति आबश्यक रहेको अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले बताउनुभयो । त्यसका लागि सरोकारवाला सबैप्रति उहाँले अपिल गर्नुभएको छ ।

अहिले अस्पतालको आकस्मिक कक्ष र कोरोना अस्पतालमा गरी आज १ सय २५ बिरामी  छन् । डा. पाठकका अनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार ३ सय ३० वटा खाली अक्सिजन सिलीण्डर उपलब्ध गराएको थियो । त्यसमध्ये १ सय ५० सिलिण्डर भरिएका थिए ।
अस्पतालमा दैनिक ४ सय ५० देखि ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छन् ।

अक्सिजन सप्लाइमा सम्झौता गरेको बाँकेको एचओ सप्लायर्सले सप्लाइ रोकेपछि पाँच दिन रुपन्देहीका उद्योग एवं सप्लायर्सबाट अक्सिजन ल्याएर काम चलाइएको थियो । तर बिरामीको चाप बढ्दै जांदा अक्सिजन सकिदै गएपछि उपचारमा जोखिम बढेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले निकै प्रयासपछि बुटवलको शङ्कर सप्लायर्सले २३० र लुम्बिनी अक्सिजन ग्यास प्रालिले ५० वटा सिलिण्डर दिउँसोसम्म उपलब्ध गराउन सकिने जनाएका छन् । तर दिउँसोसम्म कसरी थेग्ने भन्ने कुराले पिरोलेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया