११ वर्षमा बन्यो भोर्ले पुल : जेठमा सञ्चालनमा आउने

  बैशाख २४, २०७८

चरिकोट (दोलखा), वैशाख २४ : दोलखाको विगु गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्ले पुल ११ वर्षपछि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। ठेकेदार कम्पनीले नदिको वारीपारी पुलको एबुटमेन्ट बनाएर करिक १० वर्षसम्म अलपत्र छाडेको पुल निर्माणको अन्तिम चरणमा पुगेको हो ।

फुटपाथ सहित ६६ मिटर लम्बाईको एक लेनको स्टिल ट्रस पुलमा हालै ढलान सम्पन्न भएको उल्लेख गर्दै कम्पनीका आधिकारिक प्रतिनिधि ग्याल्बो तमाङले पुल जेठमा सञ्चालन आउनेबताउनुभयो । हाल पुलमा फुटपाथ, बार र रोङ्गरोगन लगाएत अन्तिम चरणको काम भइरहेको छ ।

लामो समयसम्म अलपत्र छाडिएको पुलको निर्माण कार्य गत वर्षदेखि सुरु गरेको थियो। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने भोर्ले स्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको कम्पनीका प्रतिनिधि तामाङले बताउनुभयो । पुल निर्माणका लागि २०६६ साल माघ १८ सालमा रौताहा महादेव जेभीसंग ठेक्का सम्झौता भएको थियो ।

३ करोड ५८ लाख ७१ हजार ६ सय १६ रुपैयाँको लागतमा २०६८ साल माघ १७ गते काम सम्पन्न हुनुपर्ने उक्त पुलको डिजाइन नमिल्दा पुल बन्न सकेको थिएन । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले ठेकेदार कम्पनीसंग १५ प्रतिशत भ्यारियसन बापतको रकम भुक्तानी दिने सहमति पश्चात् ठेकेदारले पुनः काम थालेको बताउनुभयो ।

लामो समयसम्म पुल नबनेपछि मार्बूको खानी खोलामा निर्माणाधिन खानी खोला १ जलविद्युत आयोजनाले आफ्नै लगानीमा भोर्ले सहित ४ वटा बेलिब्रिज हालेर आफ्नो काम गरिरहेको छ । भोर्ले पुल निर्माण हुनसके गौरीशंकर गाउँपालिका सिंगोलाई सुविधा पुग्छ । त्यस क्षेत्रमा खानी खोला, खारे खोला, घट्टेखोला, सुरी खोला र तिनेखु खोलामा आधा दर्जन बढी जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।

तपाईको प्रतिक्रिया