उपत्यकामा निषेधाज्ञा थप कडा, एक हजार सवारी कारवाहीमा

  बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : आज निषेधाज्ञाको चौथो दिन सडकमा गाडीको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा चेकिङ्ग जारी राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी सुनिलजंग शाहले बताउनुभयो ।

उहाँका अनुसार आज उपत्यकाको सवारी अवस्था समान्य रहेको र निषेधाज्ञाको अवधि भएकाले सवारी साधनहरू धेरै नगुडेका र गाडीहरु होल्डिङ्गमा रहेको उहाँले बताउनुभयो । ‘गाडी होल्डिङ्ग गर्ने क्रम जारी छ, सडकमा पास भएका गाडीबाहेक अरु गाडी छैन,’ डिएसपी शाहले भन्नुभयो ।

ट्राफिक प्रहरीले आज अपरान्हसम्म एक हजार ५८ गाडीलाई कारबाही गरेको जनाएको छ । डिएसपि शाहले भन्नुभयो,‘सात सय ५८ वटा दुई पांग्रे र तीन सय चार वटा चार पांग्रे गाडीलाई कारबाही गरेका छौँ ।’

यस्तै, नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले निषेधाज्ञाको समयमा मानिसहरु घर बाहिर ननिस्किने भएकाले अपराधिक गतिविधि स्वातः कम भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो ३–४ दिनको अन्तरालमा अपराधिक गतिविधि स्वातः कम भएको छ ।’ निषेधाज्ञाको पालना नगर्ने पैदलयात्रीलाई रोकेर सम्झाइबुझाइ गर्ने गरेको प्रवक्ता कुँवरको भनाई छ ।

त्यस्तै, आज आइतबारदेखि काठमाडौँ उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा थप कडाइ गरिएको छ भने सबै किसिमको पास पनि बन्द गरिएको काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो । ‘अनुगमनका क्रममा सवारी र मानिसहरुको चाप देखिएकाले आजदेखि सबै किसिमको पास बन्द गरिएको छ,’ उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरी निषेधाज्ञा कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिएको थियो ।

तपाईको प्रतिक्रिया