वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

  बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीले आवश्यक ठानेको भनेर सिफारिस आएकाले राष्ट्रपतिले प्रतिनिधिसभाको मात्रै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

‘नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठान्‍नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ,’ राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया