संक्रमणसँगै बाँकेका गाउँमा अक्सिजनसहितका आइसोलेसन कक्ष बन्दै

  बैशाख १३, २०७८

बाँके, वैशाख १३ : बाँकेमा कोरोना सङ्क्रमण तिव्रगतिमा वृद्धि भई अस्पतालहरुमा नयाँ विरामी भर्ना गर्न समस्या भएपछि गाउँगाउँमा अक्सिजन सहितको एकान्तवास केन्द्र (आइसोलेशन कक्ष) सञ्चालनमा आएका छन् । खजुरा गाउँपालिका १ राधापुरस्थित स्वास्थ्य चौकीमा १० सय्याको कोभिड विशेष एकान्तवास केन्द्र सञ्चालनमा आएको छ ।

वडा अध्यक्ष सुमन मल्लको व्यक्तिगत चारलाखको सहयोगमा स्वास्थ्यचौकीमा अक्सिजन सुविधा सहितको एकान्तवास केन्द्र सञ्चालनमा आएको हो । यसैगरी खजुरा गाउँपालिकाले खजुराबजारस्थित जनक शिक्षा सामग्री केन्द्रको भवनमा ४० सय्याको अक्सिजन सहितको एकान्तवास केन्द्र सञ्चालन गरेको छ । दुबै एकान्तवास केन्द्रमा चिकित्सक सहितका स्वास्थ्यकर्मीले विरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

कोहलपुर नगरपालिकाले प्राकृतिक चिकित्सालयमा सुविधा सम्पन्न अक्सिजन सहितको एकान्तवास केन्द्र सञ्चालन गरिरहेको सामाजिक विकास समितिका संयोजक कार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिनुभयो । भेरी अस्पतालमा विरामीको चाप थेग्न नसकेपछि नेपालगञ्ज उपमहानगरपालिकाले समेत ५० सय्याको सुविधा सम्पन्न एकान्तवास सञ्चालन गर्ने गरि तयारी अघि बढाएको छ ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले १।२ दिनमै एकान्तवास केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । एकान्तवास केन्द्रका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था मिलाईसकिएको छ । उपमहानगरपालिकाले ह्वाईटहाउसमा सञ्चालन गरिरहेको एकान्तवास केन्द्र समेत नियमित सञ्चालन हुने भएको छ ।

नगरभित्रै सुविधा सम्पन्न आईसोलेसन भएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा छ, स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, सीमानाकामा समेत रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाले आप्mनो तर्फबाट सक्दो प्रयास गरिरहेको छ । बाँकेको भेरी अस्पताल र शिक्षण अस्पतालले थेग्न नसक्ने गरि कोभिडका विरामीहरुको सङ्ख्या बढ्न थालेपछि उपचार व्यवस्थापनमै कठिनाई उत्पन्न भईरहेको छ ।

तपाईको प्रतिक्रिया