काठमाडौँ, वैशाख ११ : भूकम्पपछिको पुनर्निर्माण बिट मार्ने चरणमा पुगेको छ । आगामी असार मसान्तभित्रै पुनर्निर्माण टुङ्ग्याउने योजनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जुटेको छ ।
भूकम्पको छैटौँ स्मृति दिवसका अवसर पारेर शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म भएका प्रगतिबारे जानकारी दिँदै आगामी असारसम्म मात्र पुनर्निर्माणको काम गरिने र त्यसपछि बाँकी भएका काम सम्बन्धित निकायबाट गरिने जानकारी दिनुभयो ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले पु¥याएको भौतिक संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको सो प्राधिकरणको कार्यावधि आगामी पुस मसान्तसम्म रहेको छ ।
भूकम्पका कारण क्षति भएका ३२ जिल्लामा निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदा तथा गुम्बा निर्माण, खानेपानीका संरचना र सडक निर्माण तथा मर्मतको काम सम्पन्न हुने चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
निजी आवास
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ ।
निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेका आठ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये सात लाख ५३ हजार १०४ आवास निर्माण सम्पन्न भएका र केही हुने अवस्थामा रहेका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बाँकी ५८ हजार ६५० निजी आवास तोकिएको सीमाभित्र सम्पन्न गर्ने गरी काम गरिएको जानकारी दिनुभयो ।
प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेको थियो । प्राधिकरणले जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनर्निर्माणका लागि करिब नौ सय घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालन गरेको छ ।
भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ । उहाँले काठमाडौँ, भक्तपुर र ललितपुरका भित्री बस्तीका पुनर्निर्माणमा अझै चुनौती रहेको बताउनुभयो ।
सम्पदा पुनर्निर्माण
यस अवधिमा क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने २८८ वटा पुनर्निर्माण भइरहेको छ ।
सङ्घीय राजधानीको रानीपोखरी पुनर्निर्माण र धरहरा निर्माण सम्पन्न भएको छ । विश्व सम्पदा सूचीमा परेका वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रका सम्पदा पनि पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । वसन्तपुरको काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा छ ।
सरकारी भवनमध्ये केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुराताìिवक महìवका दरबारको जीर्णोद्धार भइरहेको छ । मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन् ।
स्वास्थ्य र शिक्षा
क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने बाँकी १७ प्रतिशत विद्यालयको पुनर्निर्माण चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।
स्वास्थ्य क्षेत्रका २९६ भवनको पुनर्निर्माण जारी छ । ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने सुरक्षा निकायका दुईवटा संरचना मात्र बन्न बाँकी रहेको
तथ्याङ्क प्राधिकरणले प्रस्तुत गरेको छ ।
ठूलो लगानी
नेपालको यो पुनर्निर्माणको दक्षिण एसियामा नै सबैभन्दा ठूलो पुनर्निर्माण मानिएको छ । यसमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायले सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोही अनुरूप विभिन्न राष्ट्र र दातृनिकायले अन्तर्राष्ट्रिय दाता सम्मेलनमा प्रतिबद्धता गरेअनुरूपको रकम प्राप्त गर्न प्राधिकरण सफल भएको कार्यकारी प्रमुख ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार दुई खर्ब ९४ अर्ब रुपियाँको वास्तविक प्रतिबद्धतामध्ये दुई खर्ब ४३ अर्ब रुपियाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ ।
यसबाहेक गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपियाँ परिचालनका लागि सम्झौता भई करिब ७२ अर्ब रुपियाँ परिचालन भएको छ । समग्रमा गत चैत मसान्तसम्ममा कुल तीन खर्ब ५७ अर्ब रुपियाँ लगानी भइसकेको छ ।
अनुभव र सिकाइ
नेपालले पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त गरेको उपलब्धिका साथै अनुभव र सिकाइ अन्य मुलुकसँग बाँड्ने तयारी पनि गरेको छ । यसका लागि सरकारद्वारा प्रस्तावित सगरमाथा संवादको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना प्राधिकरणले बनाएको छ ।
गुणात्मक विकास
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पत्रकार सम्मेलनमा पुनर्निर्माणले नेपालको बस्ती र लाभग्राहीको जीवनशैलीमा गुणात्मक परिवर्तन ल्याएको दाबी गर्नुभयो ।
पुनर्निर्माणको अवधिमा करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी सिर्जना भएको, दक्ष जनशक्ति तयार भएको, सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठलगायतका उद्योगको प्रवद्र्धन भएको, आठ लाख घरपरिवारको बैङ्क खातामार्फत वित्तीय पहुँचमा वृद्धि भएको र बनेका सबै भवन भूकम्प प्रतिरोधी तथा सुरक्षित भएको उहाँको भनाइ छ ।
पुनरुत्थान कार्यक्रम
भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाकोे पुनर्निर्माणको उद्देश्यले गठन गरिएको प्राधिकरणको समयावधि सकिनै लाग्दा नयाँ कार्यक्रम अगाडि सारिएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा विपत् जोखिमबाट सुरक्षित नेपाल निर्माणको १० वर्षे अभियान तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत यो अभियान अगाडि बढाइने छ ।” यस अभियानमा प्राचीन बस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र सहरी क्षेत्र र खासगरी काठमाडौँ उपत्यकाको पुनर्निर्माण तथा पुनस्र्थापनाको कामलाई प्राथमिकता दिइने ज्ञवालीले बताउनुभयो ।
यो कार्यक्रमअन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण र भविष्यमा हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढङ्गले पुनर्निर्माण र पुनस्र्थापनाको कार्य अगाडि बढाइने गरी खाका तयार भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।