पूर्वका नदीमा जलयात्र फस्टाउँदै, पर्यटक र यात्रुको भीड

  बैशाख ०४, २०७८

गाईघाट, वैशाख ४ : नयाँ वर्षको आगमनसँगै सप्तकोशीको सङ्लो पानीमा जेटबोटबाट रोमाञ्चित जलयात्रा गरी बराहा क्षेत्रको धार्मिक भ्रमण लागि आउने आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ ।

नेपालको सर्वाधिक ठूलो सप्तकोशी नदीमा पानीको वहाव घटेसँगै विभिन्न कम्पनिले सञ्चालनमा ल्याएका जेटबोटमा मनोरम प्राकृतिक दृश्य हेर्दै बाराहा भगवानको दर्शनसमेत गर्न पाइने भएपछि नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेदेखि यहाँ आन्तरिक पर्यटकहरुको भीड बढेको स्थानीयको भनाइ छ ।

उदयपुरको बेलका नगरपालिका वडा नं ८ देखि सुनसरीको बराहाक्षेत्र हुदै भोजपुरको सिम्लेसम्म जेटबोटबाट जल यात्रा गर्न सकिन्छ । जल यात्राका लागि पूर्वि नेपालकै उत्कृष्ट र आकर्षक गन्तब्यका रुपमा रहेको सप्तकोशीमा व्यावसायिक रूपले जेटबोट सञ्चालनमा आएपछि अरुण र दूधकोशीमा समेत रोमाञ्चक जलयात्रा गर्नेहरूको संख्या पनि दिनदिनै बढ्दै गएको हो ।

अरुन,तमोर र दुधकोशी नदिको सङ्गम स्थल त्रिवेणी लगायत आसपासका अन्य रमणीय सुन्दर झरना तथा प्राकृतिक भू बनोटका दृश्य अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या केहिदिन यता बढ्दै गएको जेटबोट सञ्चालकहरुले बताएका छन ।

जल यातायातलाई थप विस्तार गर्न अरुण नदी र सुनकोशी नदीमा भएका अबरोध हटाउन सके वाहिय पर्यटकहरुकोसमेत यहाँ आकर्षण बढाउन सकिने वेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो सप्तकोशी नदिमा जेटबोट सञ्चालन भएयता यात्रुहरूले भोजपुर हतुवागढीको चुहार र भसुवासम्म तथा अरुण नदीको किनारमा पर्ने सिम्लेसम्म सहजै पुग्न थालेपछि जेटबोटप्रति सर्वसाधारणको आकर्षण बढेको हो ।

उहाँले भन्नुभयो जेटबोटले पूर्वका मुख्य शहरसँगको दूरी निकै कम बनाएको छ । सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नु पर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरू सहजै छिचोल्ने गरेका छन ।

अरुण,सुनकोेशी र दूधकोशीमा भएका अबरोध हटाएमा चतराबाट अरुण नदी हुँदै संखुवासभाको तुम्लिङटारको फेदीमा र सुनकोसीको दोलालघाटसम्म यात्रुलाई एकदुई घण्टाको समयमा पु-याउन सकिने बराहक्षेत्र जल यातायात म्यारिनएण्ड रिसोर्ट प्रालिका क्याप्टेन मनिस घिमिरे बताउनुहुन्छ ।

नेपालका अधिकांश नदीहरूमा मोटरबोट र जेटबोट चलाएर एक दशकको लामो एडभेन्चर अनुभव बटुलिसकेका क्याप्टेन घिमिरेले भन्नुभयो ‘अरुण र दूधकोशीका बीच बीचमा रहेका केही ढुंगा हटाउन सके हिँडेर दिनभरी लाग्ने ठाउँमा एक घण्टामा जेटबोटबाट सवारी पु¥याउन सकिन्छ ।

जेटबोट सञ्चालकसँग नदीको अवरोध हटाउने प्रविधि छैन । चताराघाटस्थित सप्तकोशी नदीमा निर्माण भएको नयाँ पुलमुनि स्थापना गरेको बन्दरगाहादेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चुहारसम्म जेटबोट पुगे पनि त्यहाँभन्दा माथि नदीमा रहेका विशाल चट्टानका कारण जेटबोटबाट यात्रा गर्न नसकिने नेपाल रिभर्स टा«न्सपोर्ट प्रालिका सञ्चालक अनिस थापाले बताउनुभयो ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि,नेपाल रिभर्स ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात म्यारिनएण्ड रिसोर्ट प्रालि, सप्तकोशी टुरिजम एण्ड ट्रान्सपोटेशन प्रालि तथा कोसी एड्भेञ्चर प्राली लगायतका कम्पनीहरुले हाल व्यावसायिक रूपमा जेटबोट सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

जेटबोट सञ्चालक कम्पनीहरुले सर्वसाधारण यात्रुहरुसँग बढि भाडा असुल्ने गरेको जन गुनासो बारे नेपाल रिभर्स ट्रान्सपोर्ट प्रालिका सञ्चालक अनिस थापाले चतारा धामबाट पैदल हिन्दा दुई दिन र गाडिबाट एक हजार दुई सय भाडा तिरेर छ घण्टाको यात्रा गर्दै आएका त्यस क्षेत्रका वासिन्दालाई जेटबोटले २० मिनेटको छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडिदिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया