काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएपछि त्यसलाई राजनीतिक दलका नेताहरुले सकारात्मकरुपमा लिनुभएको छ ।
बैठकमा वर्तमान समसामयिक राजनीतिको विषय, संसदको हिउँदे अधिवेशन तथा कोभिड-१९ को जोखिम पुनः बढ्दै गएको अवस्थामा त्यस विषयमा सर्वदलीय छलफल गरी सुझावका आधारमा अगाडि बढ्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको बालुवाटार स्रोतले बताएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भोलि आह्वान ११ बजेका लागि प्रधानमन्त्रीबाट बैठकको आमन्त्रण प्राप्त भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । बैठकका लागि निमन्त्रणा आए पनि बैठकको एजेण्डाबारे भने जानकारी नगराइएको उहाँले बताउनुभयो । यस्तो संकटका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्नु सकारात्मक रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले दलहरुबीच सहमति जुटाएर राष्ट्रिय संकटको सामना गर्न सहज हुने भन्दै सर्वदलीय बैठक आव्हान गर्नुभएको बुझिएको छ । अहिले संसदमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दल छन् ।






