मुख्यमन्त्री गुरुङद्वारा फुर्सेखोला चिसापानी मोटरेबल पुल उद्घाटन

  बैशाख ०१, २०७८

पोखरा, वैशाख १ : पोखरा महानगरपालिका वडा नं २२ चिसापानीस्थित फुर्सेखोलामा निर्माण गरिएको फुर्सेखोला चिसापानी मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घघाटन गर्नुभएको छ  मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले आफ्नै बजेटबाट बनाउन सबैभन्दा पहिला शिलान्यास गरेको पुलको सोचे भन्दा छिटो निर्माण सम्पन्न भएको बताउनुभयो ।

प्रदेश सरकारले बाटो, पुल, खानेपानी, सिंचाई, कृषिलगायतका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएको तर श्रोत प्रयाप्त नहँदा सबै काम एकै पटक गर्न नसकिएको बताउनुभयो । गण्डकी प्रदेश भौतिक योजनामन्त्री रामशरण बस्नेतले प्रदेश सरकार समग्र विकास निर्माणका काममा लागेकाले बाटो, पुल, खानेपानी लगायतका योजनाहरु शिलान्यास भन्दा धेरै उद्घघाटन गरिरहेको बताउनुभयो ।

उक्त क्षेत्रमा पक्की पुल निर्माण भएकोले अब बाटो बनाउन पनि बनाउन सरकार तीब्रताका साथ लाग्ने बताउनुभयो । प्रदेश सांसद राजीब पहारीले प्रदेश सरकारले विकास निर्माणका काममा बढी ध्यान दिएकाले दशौं वर्ष निर्माण हुन नसकेको काम तीन वर्ष पूरा गरेको बताउँदै तीन करोड ९८ लाखको लागतमा सो मोटरेबल पुल निर्माण भएको जानकारी दिनुभयो ।

पोखरा २२ का अध्यक्ष मित्रलाल बरालले वडाको सबैभन्दा ठूलो समस्या पुल भएको र अब पुल निर्माणपछि कृषि व्यवसायको उन्नति हुने बताउनुभयो । पुल निर्माणको जिम्मा सिम्रन कन्स्ट्रक्सनल जेभी कम्पनीले लिएको थियोे । पुलको लम्बाइ ३८ र चौडाइ सात मिटर रहेको कम्पनीका प्रोप्राइटर बलबहादुर रानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया